टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ को लागि छनोट प्रकृया तय, यस्तो छ मापदण्ड

मूलखबर संवाददाता
काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ को लागि छनोट प्रकृया तय गरेको छ । टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ भारतमा हुने तय गरिएको छ । टी ट्वान्टी विश्वकप क्रिकेट २०२० भने अष्ट्रेलियामा आगामी अक्टुबर महिनाको लागि निर्धारण गरिएको छ ।

आईसीसीका अनुसार क्रिकेटको सबैभन्दा सानो स्वरुपको विश्वकप प्रतियोगिताको लागि ११ वटा क्षेत्रीय छनोट स्पर्धा हुनेछन् । आईसीसीले छनोटका लागि पाँच क्षेत्र तोकेकोमा उक्त पाँच क्षेत्रमा ११ वटा स्पर्धा हुनेछन् । अफ्रिका, अमेरिका, एसिया, पूर्वी–एशिया प्रशान्त र यूरोप गरी आठ टोलीले स्पर्धा गर्नेछन् ।

आईसीसीले यसअघि च्याम्पियन्स ट्रफीको आयोजना गर्दै आएको थियो । च्याम्पियन्स ट्रफीको स्थानमा अब देखि टी ट्वान्टी विश्वकपको आयोजना गरिने आईसीसीले जनाएको छ । र उक्त प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ । १२ टोली सिधै विश्वकप खेल्न योग्य हुनेछन् भने बाँकीको चार टोलीको टुंगो लगाउन आठ आठ गरी दुई समूहमा विभाजित १६ टोलीले छनोट खेल खेल्नुपर्नेछ ।

नयाँ व्यवस्था बमोजिम आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेट २०२० मा पुछारमा रहने चार टोली आगामी संस्करणको छनोट खेलको लागि स्वतः योग्य हुनेछन् । त्यसैगरी, जनवरी १, २०२० को दिन आईसीसी विश्व वरियतामा राम्रो गरेका चार टोली पनि स्वतः छनोटका लागि योग्य हुने व्यवस्था गरिएको छ । जसबमोजिम जिम्बाबवे, नेपाल, यूएई र हङ्कङ छनोटका लागि सिधै योग्य भएका छन् । आईसीसीको टी ट्वान्टी विश्व वरियतामा नेपाल २०१९ को देखि नै बाह्रौं स्थानमा यथावत् रहेको छ ।

छनोट खेल्न बाँकीको आठ टोलीले क्षेत्रीय स्पर्धा खेलेर ‘ग्लोबल’छनोट प्रतियोगिताका लागि स्थान सुनिश्चित गर्नुपर्नेछ । १६ टोलीबीचको ‘ग्लोबल’ छनोट प्रतियोगितामा दुई समूहका शिर्ष रहने दुई दुई टोलीले विश्वकप टी ट्वान्टी क्रिकेट २०२१ को लागि स्थान सुनिश्चित गर्नेछन् ।

नेपालले टी ट्वान्टी विश्वकपको ‘ग्लोबल’ छनोट प्रतियोगितासम्म पनि पुग्न सकेको थिएन । सिंगापुरमा भएको क्षेत्रीय छनोट प्रतियाृेगिताबाट बाहिरिदा नेपालले यूएईका लागि निर्धारित ‘ग्लोबल’ छनोट खेल्न पाएको थिएन । यूएईमा गत् नोभेम्बर–डिसेम्बर महिनामा सम्पन्न ग्लोबल छनोट प्रतियोगिताबाट छ टोलीले अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप क्रिकेट २०२० को लागि स्थान सुनिश्चित गरेको छ ।