राष्ट्रिय सभाको १८ सिटका लागि उपनिर्वाचन : सातै प्रदेशमा जारी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ९ माघ

राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ । यही फागुन २१ बाट रिक्त हुन लागेका ती पदहरुमा मतदान भइरहेको हो ।

निर्वाचन आयोगका अनुसार ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

निर्वाचन आयोगले प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदानस्थल तोकेको छ । त्यहाँ निर्धारित १० बजेदेखि मतदान शुरु भएको थियो । मतदान अहिले पनि शान्तिपूर्ण रूपमा भइरहेको बाइएको छ ।

त्यसैगरी प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवनमा पनि मतदान भइरहेको छ । यहाँ पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवनलाई वागमती प्रदेशको मतदानस्थल बनाइएको छ । यहाँ पनि बिहान १० बजेदेखि नै मतदान भइरहेको छ । जहाँ बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलसहितका मतदाताले मतदान गरिरहेका छन् ।

गण्डकी प्रदेशको मतदानस्थल तोकिएको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालयमा पनि मतदान भइरहेको छ ।

त्यसैगरी प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा पनि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

नेकपा र राजपा तथा समाजवादी फोरमको चुनावी कार्यगत एकताले गर्दा नेपाली कांग्रेसको पहिलेको सिट गुम्ने देखिएको छ तथापी कांग्रेसले आफ्ना छुट्टै उम्मेदवार खडा गरेर चुनावी मैदानमा होमिएको छ ।