
कांग्रेसमा सहमति प्रयास : सभापति देउवा र पौडेलबीच भेटवार्ता
पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
बुधबार पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताउनुभयो । शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उहाँको भनाई ।
पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला छलफलका लागि बुढानिलकण्ठ पुग्नुभएको थियो । छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि हुनुहुन्थ्यो । यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।
पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
