कांग्रेस विवाद : किन बोलाए देउवाले पौडेलसहित मुख्य नेताहरुलाई आफ्नो निवासमा ?

मूलखबर संवाददाता
काठमाडौं, ८ माघ ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै हल भएको छैन । सभापति शेर बहादुर देउवाले आफूहरुको मागको सम्बोधन नगरी एकलौटि ढंगबाट निर्णयहरु गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाउँदै र बैठक वहिस्कार गर्दै आइरहेको छ ।

देउवाले केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गर्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने, विभागको संख्या २८ बाट बाढाएर ४७ पुर्‍याउने र भ्रातृसंस्था तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट छ। संस्थापनले पार्टीमा चल्दै आएको सहमतीय परम्परा तोडेर पहिलो पटक बहुमतले महाधिवेशनको मिति तय गरेको आरोप पौडेल समूहको छ।पौडेल समूहले २६ मंसिरपछिका केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ।

देउवा बहुमतबाट निर्णय गरेर अघि बढ्न खोजेपछि पौडेलले आफू निकटका जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएर पुस २१ गतेदेखि तीन दिनसम्म परामर्श गरेका थिए। जिल्ला सभापतिहरुको भेलाबाट महाधिवेशनको मिति सहमतिमा तोक्न देउवालाई लिखित सुझाव दिइएको थियो ।

महाधिवेशनको मिति यथावत राखी अन्य निर्णय सच्याउन आफू तयार भएको देउवाले पुस २७ गते पौडेललाई बताएका थिए।
भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचारपछि फर्किएका कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार सभापति शेरबहादुर देउवालाई भेट्‌ने भएका छन् । पार्टीको आन्तरिक विवाद समाधानको खोजीमा नेता पौडेलले सभापति देउवासँग छलफल गर्न लागेका हुन् ।

अपराह्न ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेताहरुलाई बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  देउवाले वरिष्ठ नेता पौडेलसँगै उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बोलाएका हुन् ।

निधि, सिंह र सिटौलाबीच सोमबार पार्टी कार्यालय सानेपामा भएका छलफलले वरिष्ठ नेतासहितको बैठक बेलाउन देउवालाई आग्रह गरेको थियो । छलफलमा सिंहले दिल्लाबाट फर्किएपछि पौडेलले देउवासँग कुराकानी गर्न चाहेको कुरा सुनाएका थिए । उक्त छलफलकै बीचमा निधिले सभापति देउवासँग टेलिफोनमार्फत सिंहको कुरा सुनाएका थिए । पुस २७ गते साँझ सभापति देउवासँग उनको निवासमा छलफल गरी रक्तचाप स्थिर नभएको भन्दै पुस २९ गते वरिष्ठ नेता पौडेल दिल्ली उडेका थिए ।

अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका लागि गएका उनले उपचारसँगै भाजपा नेता एवं रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता समेत गरेका थिए । गत शनिबार स्वदेश फर्किएपछि उनी मङ्गलबार नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

आज देउवा निवासमा हुने काँग्रेस नेताहरुबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्डकै आग्रहमा नेकपाबाट सभामुखका उम्मेदवार बनेका अग्नि सापकोटाको विरुद्धमा उम्मेदवार खडा गरेको छैन ।

नेताहरुबीचको छलफलमा उपसभामुखमा पार्टीको उम्मेदवार र संसदीय रणनीतिबारे छलफल हुने भानुले बताए । प्रचण्डले काँग्रेसलाई उपसभामुख दिन आफू तयार रहेको र प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्न देउवालाई सुझाएको बुझिएको छ ।

यद्यपि अहिलेसम्म उपसभामुखबारे काँग्रेस नेताहरु र ओलीबीच कुनै छलफल भएको पाइँदैन । तर काँग्रेसले उपसभामुखमा नेकपाको आफूलाई सहयोग रहने विश्वास दिएको देखिन्छ । प्रचण्डसँगको भेटपछि वरिष्ठ नेता पौडेलले त्यसको सङ्केत दिएका थिए । बैठकमा पौडेलले दिल्ली भ्रमण र प्रचण्डसँग भेटमा भएका कुराकानीबारे पार्टीलाई जानकारी गराउने बुझिएको छ ।