सभापति देउवाविरुद्ध ४३ जिल्ला सभापति : निर्णय नसच्चाए देउवालाई बर्खास्त गर्ने चेतावनी

मूलखबर संवाददाता
काठमाडौं

प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको आन्तरिक विवाद चरमचुलिमा पुगेको छ । संस्थापन पक्षले आफूहरुको भावना विपरित निर्णय गरेको भन्दै पौडेल पक्षले आफूपक्षधर ४३ जिल्ला सभापतिलाई जम्मा गरेको भेलामा सभापति शेरबहादुर देउवाको स्वेच्छाचारी निर्णय विरुद्ध डटेर मुकाविला गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिको बैठकबाट बहुमतका आधारमा परित निर्णयहरुप्रति असहमति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पोडेलले जानकारी दिनुभयो ।

भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताउनुभयो । उहाँले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको रायसुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा निश्कर्षमा पुग्ने बताउनुभयो ।

भेलामा सहभागि जिल्ला सभापतिहरुले सभापति देउवाको नेतृत्व मानन नसकिने भन्दै तत्काल निर्णय सच्चाउन चेतावनी दिएका छन् ।
मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पुस ११ गतेसम्म पटक पटक स्थगित गर्दै सहमतिको प्रयास गरिएको थियो । तर, सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो ।

भेलामा पौडेलले उक्त निर्णय सच्याउनुको विकल्प नभएको भन्दै आफूले जिल्ला सभापतिसँग परामर्श आवश्यक गरेर आगाडि बढ्न खोजेको बताएका थिए । बैठकमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि धारणा राखेका थिए ।

पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी गगन थापा, नविन्द्रराज जोशीलगायतको सहभागिता रहेको भेलामा इतर पक्षका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइराला भने उपस्थित भएनन् ।