पुप्पलाल लोकमार्गमा ४१ अर्ब खर्च हुँदा ४२ प्रतिशत काम सम्पन्न : कहिले बनिसक्ला १८७९ किमि सडक ?
पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समून्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताउनुभयो । केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा आयोजना कार्यालयले काम गरिरहेको बताउनुभयो ।
पाँचथर आयोजना कार्यालयले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर गरेर ३८६ किलोमिटर, काभ्रे आयोजना कार्यालयले खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली रामेछाप, काभ्रे र सिन्धुपाल्चोक गरी ३३५ किलोमिटर र गोरखा आयोजना कार्यालयले नुवाकोट, धादिङ, गोरखा र लमजुङ गरी २६० किलोमिटर सडक निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी पर्वत आयोजना कार्यालयले कास्की, पर्वत, बागलुङ गरी २४५ किलोमिटर र दैलेख आयोजना कार्यालयले रुकुम पूर्व, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी ४१० किलोमिटर काम गरिरहेको निर्देशक केसीले बताउनुभयो ।
आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३७७ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ४६२ किलोमिटर अन्य आयोजनाहरुले नै पूर्ववत रुपमा कालोपत्रे गरिसकेका छन् । कुल ८३९ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेकोमा ६३७ किलोमिटर सडक कालोपत्रे गर्न यो आर्थिक वर्षमा ठेक्काहरु भइसकेको निर्देशक केसीले बताउनुभयो । उहाँका अनुसार ९९ किलोमिटर ग्राभेल सडकको ठेक्का जारी रहेको छ भने ४०३ किलोमिटर सडकको ट्रयाक खुलेर स्तरोन्नतीको ठेक्का हुँन बाँकी रहेको छ ।
वि.स.२०५८ सालको राष्ट्रिय नीतिमा पूर्व—पश्चिम राजमार्गको विकल्पका रुपमा परिकल्पना गरिएपनि २०६४÷०६५ मा आयोजना कार्यान्वयन भएको थियो । कुल २६ जिल्लाका २१५ बस्ती र १ करोड मध्यपहाडी क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा आयोजनाले गरेको छ । पाँचथरको चियो भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर निर्माणका लागि यो आर्थिक वर्षमा १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।