आजबाट नेपाल भ्रमण वर्ष शुरु : रङगशालासहित सातै प्रदेशबाट एकसाथ भव्य उद्घाटन गरिँदै

मूलखबर संवाददाता
काठमाडौं, १६ पुस

अंग्रेजी क्यालेण्डरको नयाँ वर्ष शुरवातसँगै नेपाल भ्रमण वर्षको उद्घाटन गर्न लागिएको छ । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात आजबाट गर्न लागिएको हो ।

काठमाण्डौको दशरथ रङ्गशालासहित देशका सातै प्रदेश राजधानीबाट एकैसाथ भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने सरकारको तयारी छ ।

भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ ।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ(संस्थाले परेड गर्नेछन् ।

आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, चीन, जमैका र म्यानमारबाट मन्त्रीहरू आएका छन् । उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार स्वागत गरे ।

उद्घाटन समारोहलाई विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट ३५ भन्दा बढी पत्रकारलाई नेपाल आमन्त्रण गरिएको छ । उनीहरूलाई नेपालका विभिन्न गन्तव्यसम्म लैजाने योजनासमेत छ ।

भ्रमण वर्ष २०२० को उद्घाटन नेपालमा मात्र आज शुभारम्भ हुनेछ । विदेशमा भने ७ तारिखमा मात्र उद्घाटनको तयारी छ । पर्यटनमन्त्री भट्टराईका अनुसार, विदेशमा नयाँ वर्षको बिदाको मुड हुने र त्यसले भ्रमण वर्षको शुभारम्भ खल्लो हुने भएकाले ७ जनवरीमा मात्र उद्घाटनको कार्यक्रम राखिएको हो । त्यसदिन सम्भव भएसम्म आ–आफ्नो मुलुकका राष्ट्रप्रमुख र या सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउन नेपाली कूटनीतिक नियोगलाई पत्राचार गरिएको छ ।

नेपालमा विदेशी पर्यटकलाई अधिकतम भित्र्याएर नेपालको आर्थिक समृद्धि समेत गर्ने महत्वाकांक्षासहित नेपाल भ्रमण वर्ष मनाउन लागिएको हो । यस वर्षमा २० लाख भन्दा वढि पर्यटक नेपाल ल्याउने उद्धेश्य राखेको छ ।

सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ ।

पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्य १० वर्षपछि मात्रै पूरा भयो । सन् २००७ मा आइपुग्दा बल्ल ५ लाख पर्यटक आगमनको आँकडा छोएको थियो ।