अमेरिका भन्छ-‘एमसिसि इण्डोप्याशिफिकको अंग हो’, परराष्ट्रमन्त्री भन्छन् : पारित गरिन्छ, पार्टीले के गर्ला ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १४ पुस ।
अमेरिकाले एमसिसि इण्डोप्याशिफिकको अंग हो भनेर पुष्टि गरिसकेपछि पनि परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरिछाड्ने बताउनुभएको छ ।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकले एमसिसि इण्डोप्याशिफिकको अंग हो भने पारित नगर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८÷१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले एमसीसीको विषयमा सरकार स्पस्ट भएकोले संसदबाट पास हुने बताउनुभएको हो । मन्त्री ज्ञवालीले सरकारले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठेपनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै संसदबाट पास हुने जानकारी दिनुभयो । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । उहाँले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले एमसीसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन भन्ने महत्वपूर्ण हुने बताउनुभयो । उहाँले परियोजना छनौट गर्दा नै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण गर्न सहयोग मागिएकाले भारतको स्वीकृति लिनुपरेको स्पस्ट पार्नुभयो ।