
उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कार्वाही गर्न निर्देशन, कृषिमन्त्री भन्छन् : सम्पर्कमै छैनन्
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले उक्त निर्देशन दिएको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले बैठकपछि उक्त निर्देशन दिनुभएको हो ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरु भागेको बताउनुभयो । उहाँले किसानहरुको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताउनुभयो ।
समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन् । त्यस्तै सरकारले दिने अनुदान समेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो किसानहरुको थियो ।
किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् ।
