सोमालियाको राजधानीमा कार बम विस्फोट : कम्तीमा ९० जनाको मृत्यु

मूलखबर संवाददाता
मोगादिसु, १३ पुस ।

संकटग्रस्त सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको बीबीसीले उल्लेख गरेको छ ।

मदिना अस्पतालका निर्देशक डाक्टर मोहम्मद युसुफले भने, ‘हामीले अहिलेसम्म ७६ शव संकलन गरिसकेका छौं ।’ उनले मृतकको संख्या बढ्न सक्ने जनाए । सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको संख्या ९० भन्दा बढी भएको बताएका छन् । यद्यपि, त्यसको पुष्टि भइसकेको छैन । उनका अनुसार मृत्यु हुनेहरूमध्ये अधिकांश विश्वविद्यालयका विद्यार्थी छन् ।

सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब समूहले गर्ने गरेको भए पनि शनिबारको विस्फोटको जिम्मा भने कुनै समूहले लिएको छैन । अल–कायदासँग सम्बन्धित अल–शबाब इस्लामिक विद्रोही समूहले सोमालियामा १० वर्षदेखि विद्रोह गर्दै आएको छ । उक्त समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट लखेटिएको भए पनि देशका अन्य स्थानमा भने यसको नियन्त्रण कायमै छ ।