प्रदेश ३ को नाम बागमती राख्ने नेकपाको निर्णय

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १३ पुस ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश–३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ ।

प्रदेशसभामा दुई तिहाई बहुमत रहेको नेकपाले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेकाले यो नाम पारित हुने निश्चितप्रायः छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले नाममा सहमति जुटाएपनि राजधानीका विषयमा भने आधिकारिक निर्णय गरेको छैन । त्यसकारण राजधानी हेटौ.डा नै कायम रहने देखिएको छ ।

केही दिनभित्र पुन छलफल गरेर राजधानी टुंगो लगाइने तयारी नेकपाको छ । त्यसका लागि प्रदेशसभा सदस्यसँग पनि छलफल हुने बताइएको छ । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको छैन । प्रदेशसभाका १ सय १० सिटमा ८० जना नेकपाका रहेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा विवाद देखिएको छ ।