सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

मूलखबर संवाददाता
काठमाडौं, ८ पुस

समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। मंगलबार बिहान समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा बुझाउने बताइएको छ। समाजवादीबाट यादव उपप्रधानमन्त्री तथा कानुनमन्त्री छन्।

राष्ट्रिय जनता पार्टी (राजपा)सँग सरकारले सहमति गरेसँगै समाजवादी असन्तुष्टि रहेको थियो।

त्यसैगरी समाजवादीका सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् एक महिनाअघि  मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिइएपछि समाजवादी र सरकारबीचको सम्बन्धमा चिसो सुरु भएको थियो।

पुस ७ गते साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए। संविधान संशोधन प्रस्ताव अस्वीकार भएपछि यादवले सरकार छोड्ने मुड बनाएका थिए।

संविधान सुधार तथा संशोधनका लागि विज्ञ समिति गठन गर्नका लागि यादवले संविधान संशोधन प्रस्ताव तयार गरेका थिए। उक्त प्रस्तावलाई प्रधानमन्‍त्रीले ठाडै अस्वीकार गरेका थिए।