एनआरएनएको ‘फेस टु फेस बैठक’ जनवरी १८ र १९ पोखरामा हुने

मूलखबर संवाददाता
काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । शनिबार बसेको एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतीय बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रि समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने संघका प्रवक्ता डिबि क्षेत्रीले जानकारी दिए ।

उक्त २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रियालगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको पनि क्षेत्रीले जानकारी दिए । शनिबारको बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण गराउनेसमेत निर्णय गरेको छ । साथै सो बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णयसमेत गरेको छ ।

साथै उक्त बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयनबारे व्यापक छलफल भएको थियो र मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ । बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।

यसैगरी शनिबार नै अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतिय बैठक आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्तद्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरुबारे जानकारी गराईएको थियो । उनले बलिया राष्ट्रिय समन्वय परिषद् भए नै संघ बलियो हुने धारणा राखेका थिए ।

अध्यक्ष पन्तले संघको विभिन्न परियोजनाको संक्षिप्त विवरण समेत दिएका थिए । उनका अनुसार गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएका छन् र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिकासंग सल्लाह गरी काठमाडौंको केही स्थानमा आधुनिक र सफा सौचालयको विकासका लागि पहल गरिरहेको र यसमा विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई स्थान चुनेर सहयोग गर्न अनुरोध गरे ।

अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त सम्बाद कार्यक्रममा सहभागी राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको धारणा राख्नुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्का गतिविधिहरुबारे चासो राखेका थिए ।