सरकारी वकिल र प्रहरीकाे संयुक्त सम्मेलन शुरू

मूलखबर संवाददाता
काठमाडौं, ५ पुस

सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरूको दोस्रो संयुक्त सम्मेलन राजधानीमा शुक्रबारबाट सुरु भएको छ । ‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहार, निष्पक्ष अनुसन्धान र अभियोजन, न्यायको आधार’भन्ने नाराका साथ संयुक्त सम्मेलन राजधानीमा सुरु भएको हो ।

महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सुरु सम्मेलनको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उद्घाटन गरेका हुन् ।

तीन दिनसम्म आयोजना हुने सम्मेलनमा समूहगत रूपमा अनुसन्धानका विभिन्न विषयमा छलफल हुनेछ । सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृत तथा पर्यवेक्षक गरी ६ सयभन्दा बढीको सहभागिता छ । सम्मेलन उद्घाटनमा धारणा राख्दै प्रधानन्यायाधीश जबरा, महान्यायधिवक्ता अग्नि खरेललगायतले सरकारी वकिल र अनुसन्धानकर्ता प्रहरीबीच समन्वय भए मात्र फौजदारी न्यायप्रणाली बलियो हुने बताए ।

उनीहरूले नयाँ फौजदारी संहिताअनुसार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच एकै किसिमको बुझाइ भए मात्र फौजदारी न्याय प्रणालीलाई बलियो बनाउन सकिने र सरकारी मुद्दामा सफलता मिल्ने बताए ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालका जेलहरूलाई अझै सुधारगृहका रूपमा विकास गर्न नसकिएको र त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
सम्मेलनमा नयाँ संहिता लागू भएपछि त्यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे विभिन्न विषयमा छलफल हुने महानिरीक्षक खनालले जानकारी दिएका छन् । सम्मेलन आइतबार सकिनेछ ।