भारतमा हिंसा : १७ काे मृत्युु, २ सय बढि गिरफ्तार

मूलखबर संवाददाता
काठमाडौं

नागरिकता संशोधन कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा शुक्रबार भारतको उत्तर प्रदेशमा ९ जना नागरिकको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहका अनुसार मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने छ। उनका अनुसार उत्तर प्रदेशका विभिन्न स्थानबाट २१८ जनालाई गिरफ्तार गरिएको छ।

शुक्रबार भएको प्रदर्शनमा मेरठमा तीन जना र बिजनोरमा दुई जनाको मृत्यु भएको छ। त्यस्तै वाराणसीमा, फिरोजाबाद, सम्भलर कानपुरमा एक-एक जनाको ज्यान गएको छ।

त्यस्तै बिहीबार कर्नाटकको मेंग्लोरमा तीन जनाको ज्यान गएको थियो। त्यस्तै गएको हप्ता असममा ५ जना प्रदर्शनकारीको ज्यान गएको थियो।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले विवादित नागरिकता संशोधन कानुन बनाएपछि भएका विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १७ जनाले ज्यान गुमाएका छन्।

नागरिकता संशोधन कानुनको विरोधमा विगत दुई सातादेखि भारतभरि प्रदर्शन भइरहेको छ। पूर्वोत्तर भारतको असम र त्रिपुराबाट सुरु भएको उक्त आन्दोलन अहिले देशव्यापी बनेको छ। यसबीच पक्राउ पर्नेको संख्या हजारौं पुगेको छ।

सरकारले प्रदर्शनलाई निस्तेज पार्न निषेधाज्ञा लागू गर्नेदेखि मोबाइल, इन्टरनेट सेवा बन्द गर्नेसम्मका रणनीति अपनाउँदै आएको छ। तर, आन्दोलन मथ्थर हुनुको साटो चर्किंदै गएको देखिन्छ। सुरुमा निश्चित समुदाय र भेगका मानिसहरूले आन्दोलन थालेकामा केही दिनयता विद्यार्थी, राजनीतिज्ञ, कलाकार, अधिकारकर्मी र आम मानिसको समेत त्यसमा उल्लेख्य उपस्थिति देखिँदै छ।