ललितपुर महानगरपालिकाद्वारा (साग)मा पदक जित्ने खेलाडीहरुलाई सम्मान

मूलखबर संवाददाता
ललितपुर, २ पुस ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ ।

महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताउनुभयो । खेल क्षेत्रमा ठूलो योगदान गर्न नसकेपनि ऐनमा उल्लेख भएअनुसारको काम महागरले गरेको उहाँले बताउनुभयो ।

महानगरले फुटबलमा लागनी गरिरहेके उल्लेख गर्दै उहाँले एन्फामा दर्ता भएको क्लबहरुलाई टीम तयारी स्वरुप सहयोग गरेको बताउनुभयो । उहाँले महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको बताउनुभयो ।

सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता १६ औं सताब्दीको युरोपियन सभ्यतासँग मेल खाने गरेको बताउनुभयो । पाठनको कृष्णमन्दिर, काष्ठमण्डप तथा मूर्तिकलाको गरिमामय परम्परा रहेको उहाँले बताउनुभयो ।

एक फरक प्रशंगमा उहाँले प्रदेश र संघीय सरकारभन्दा स्थानीय सरकारलाई असाधारण अधिकार दिएकोले काम पनि असाधारण नै गरेर देखाउनुपर्ने बताउनुभयो । ललितपुर महानगरले नगरपालिको १०० औं स्थापना दिवस पनि मनाएको छ ।