६ किलो दुर्घटनामा मृतकको संख्या १५ पुग्यो, संख्या अझै बढ्न सक्ने

मूलखबर संवाददाता
काठमाडौं, १ पुस ।

सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।
घटनास्थलमा १३ जनाले ज्यान गुमाएका थिए भने अर्को एक जनाको उपचारको लागि लैजाने क्रममा ज्यान गएको थियो । अज थप एक जनाको उपचारको क्रममा निधन भएपछि मृतकको संख्या १५ पुगेको हो ।

घटनामा मृत्यु हुने १४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका ७ का अन्दाजी २७ वर्षीय सुकबहादुर तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ र ७ वर्षीया सबिना छन्।

त्यस्तै दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ, सोही नगरपालिका ९ की २८ वर्षीया मञ्जु तामाङ र ४२ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रामेछापको उमाकुण्ड गाउँपालिका ५ का २८ वर्षीय मेहेश तामाङ, भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षीय चिनु बस्नेत, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती मैया खत्री रहेका छन्।

त्यस्तै लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षकी गङ्गामाया लामा र १५ महिनाकी रोशनी तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको दुर्घटनामा परी मृत्यु भएको छ।

एक जनाको सनाखत हुन बाँकी रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।  ४/५ जनाको अवस्था अझै गम्भीर रहेको छ, इन्स्पेक्टर खनालले भने, मृतकको संख्या बढ्न सक्छ, भन्न सकिन्न। घाइते मध्ये सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ।

दुर्घटनाको कारण पत्ता नलागेपनि गाडिको ब्रेक फेल भएको वा टायरमा समस्या भएको मध्ये एक हुन सक्ने बताइएको छ । घटनामा घाइते सहचालकले टायरमा हावा कम भएकाले दुर्घटना भएको बताएका छन् भने चालक फरार छन् ।