
नेकपा स्थायी समिति बैठक : प्रचण्डद्वारा राजनीतिक दस्तावेज प्रस्तुत, भाेली ११ बजे पुन शुरू
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक आज मिति २०७६ मंसीर २९ गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।
बैठकको आरम्भमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामनासहित प्रस्ताव पारित गरिएको छ । उहाँ छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी काममा सक्रिय हुने विश्वाससमेत व्यक्त गरिएको छ ।
बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट निम्न बमोजिमका ५ वटा एजेण्डाहरुः राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको छ ।
आजको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभयो । यसैगरी विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभयो ।
स्थायी समितिको अर्को बैठक भोलि मंसीर ३० गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।
