पौडेल निवास पुगेर देउवाले गरे सहमति प्रयास : भएन विवाद समाधान

मूलखबर संवाददाता
काठमाडौं

प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा शनिबार बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थिए । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टासम्म भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्याएका थिए । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो विषयका बारेमा शनिबार साँझसम्म दुवै पक्षका विवाद समाधानका लागि गठित वार्ता समितिबीच छलफल भई सहमति खोजिने प्रवक्ता शर्माले बताएपनि सहमति भने हुन सकेन । वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।

दुवै पक्षबीच सहमति नभएपनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नियमित सञ्चालन गर्ने र केन्द्रीय विभाग गठनबारे छलफल गर्ने संस्थापन पक्षको तयारी छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो ।

बिहीबारको बैठकमा केन्द्रीय निर्वाचन समितिले विधान बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन केही बाँकी रहेको अवगत गराएको थियो । मङ्सिर १४ गतेको उपनिर्वाचनका कारण केही जिल्लामा बाँकी रहेको अन्तरिम समायोजनसम्बन्धी कार्य अबको १८÷२० दिनपछि सम्पन्न हुने र महाधिवेशनकोे कार्यतालिका तय गर्ने निर्वाचन समितिको योजना छ ।

यसैगरी बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनलगायत प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो । संस्थापन पक्षले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ ।
साथै उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो ।

काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । सोही महाविधेशनमा नेता देउवाले अर्का नेता पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर काँग्रेसमा विधानमा उल्लेखित एक वर्षसम्म अवधि बढाउन सक्ने प्रावधानमा टेकेर नेतृत्वले आफ्नो कार्यसमितिकोे म्याद पाँच वर्ष पु¥याउने परम्परा रहेको देखिन्छ । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

आजको बैठकपनि पौडेल पक्षले बहिष्कार गर्ने

यसैबीच आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने भएको छन् । शनिबार सभापति शेरबहादुर देउवा पौडेल निवासमै गएर छलफल गर्दा पनि सहमति नजुटेपछि पौडेल शनिबारै विराटनगर पुगेको जानकारी दिएका छन् । कांग्रेस नेता डा। मिनेन्द्र रिजालले शनिबारैै देउवा पक्षधर नेता तथा उपसभापति बिमलेन्द्र निधीसँग कुरा गरेका थिए । रिजाल र निधीबीचको कुराकानीमा पनि सहमति नजुटेपछि आफूहरुले आइतबारे बैठक बहिस्कार गर्न लागेको रिजालले जानकारी दिए ।
पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिइरहेको छ । देउवा भने प्रक्रिया पुर्याएर कार्यतालिका ल्याउने भनिरहेका छन् । तर विभिन्न भातृ संगठनभित्रको समस्या समाधान पहिला कि कार्यतालिका पहिला भन्नेमा कुरा मिलेको छैन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो । पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन् । ‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नेबारे छलफल भएको,’ पौडेलले बताएका छन् ।
सभापति देउवाले अगाडी सारेको पार्टी विभाग गठनमा पनि पौडेलको असहमति रहेको छ । सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलले आरोप लगाएका छन् ।

बिहीबार बसेको केन्द्रीय समिति सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गरेका छन् भने आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुने तालिका रहेको छ । त्यस्तै भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले दुई मध्ये एक संस्थाको नेतृत्व आफ्नो पक्षले पाउनु पर्ने माग राखेको छ ।