विहे गर्ने बहानामा घरमा ल्याई युवतीको हत्या, सेफ्टि ट्याङकीमा शव फेला

विवेक अर्याल
 धादिङ

धादिङको सिद्धलेक गाउँपालिकाको वडा नं ३ आम्कोटमा, निजी घरको शौचालयको सेफ्टि ट्याङकीमा एक युवतीको शव फेला परेको छ ।

महिलाको शव सेफ्टि ट्याङकीमा फालिएको भन्ने विशेष सुचनाको आधारमा खोज तलास गर्दै जाँदा शव फेला परेको प्रहरीले जनाएको छ । आम्कोट निवासी अर्जुन सुयल मगरले विहे गर्ने भन्दै ल्याएको केटीको हत्या गरि शव करिव २० दिन पहिले , गत मंसिर १० गते नै सेफ्टि ट्याङकीमा लुकाइएको पाइएको प्रहरीले जनाएको छ ।
ठेगाना नखुलेकी अनिसा तामाङ नाम गरेकी २० वर्षिय युवतीको शव गल्न थालिसकेको अवस्थामा प्रहरीले सेफ्टि ट्याङकीबाट निकालेर पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङवेशी लगेको छ ।

युवतीको हत्या गरि घटना गुपचुप गराउन शवलाइ सेफ्टि ट्याङकीमा फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाइ पक्राउ समेत गरेको छ । शव फेला परेको सेफ्टि ट्याङकी भएको घरवेटी अर्जुन बहादुर सुयल मगर, इन्द्र बहादुर थापा मगर र छवि थापा मगरलाइ अनुसन्धानको लागि प्रहरीले शनिवार नै नियन्त्रणमा लिएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट अर्जुन मगरले विहे गर्ने भन्दै ल्याएको केटीको हत्या गरि शव गत मंसिर १० गते नै सेफ्टि ट्याङकीमा लुकाइएको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको सुक्ष्म अनुसन्धाना गरिरहेकाले थप बताउन नमिल्ने सुचना अधिकारी डिएसपी खड्काले बताए । उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ, युवतीको ठेगाना पत्ता लगाउने कोशिस भइरहेको छ, अनुसन्धान सकिएपछि हामी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौँ ।’

यता सिद्धलेक गाउँपालिका वडा नं ३ का अध्यक्ष देव बहादुर पुलामीले पनि गाउँमै विहे भएर आएकी नवदुलहीको साथीको रुपमा आएकी केटीको हत्या भएको भन्ने प्रारम्भिक जानकारी आफुले पाएको बताएका छन् ।