जनकपुरमा बम विष्फोट, इन्स्पेक्टर सहित मृतकको संख्या ३ पुग्यो
धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा परि ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए।
बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको पनि मृत्यु भएको छ। राजेश साहको घरको शौचालय अगाडि बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी टोली पुगेको थियो। प्रहरी नीरिक्षकसहित प्रहरीकै एक जवान सख्त घाइते भएको छ।
बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन्। उनीहरुको धरानमा उपचार भइरहेको छ।
शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखिन् । उनले यो कुराको जानकारी आफ्ना पति राजेशलाई गराइन् । राजेशले तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । केहीबेरमै प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो ।
प्रहरी निरीक्षक दाहालले झोला छुँदै ‘केही होइन’ भनेलगत्तै विष्फोट भएको भिखारीको भनाइ छ । घटनामा ज्यान गुमाएका राजेशका पिता भिखारी साहले भने, ‘प्रहरी निरीक्षक दाहाल आफैंले झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भयो, सायद सेनाको टोलीलाई बोलाएको भए, यो क्षति हुने थिएन ।’
विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ।