प्रविधिमा बढ्याे अाकर्षण : ४ जी चलाउने नेपाली ४३ लाख

मूलखबर संवाददाता
काठमाडौं

सङ्ख्यात्मक हिसाबले एनसेलका फोरजी प्रयोगकर्ता निकै धेरै छन् । प्राधिकरणका अनुसार एनसेलका मात्रै ३२ लाख ९२ हजार प्रयोगकर्ता छन् । नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमका भने आठ लाख ३४ हजार प्रयोगकर्ता छन् । त्यस्तै सबैभन्दा पछि फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमका भने दुई लाख २७ हजार फोरजी प्रयोगकर्ता छन् । अहिले तीनवटै सेवा प्रदायकले १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थताको आधारमा उपलब्ध फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा उपलब्ध गराइरहेका छन् ।

एनसेलले देशका मुख्य सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्यअनुसार चार दर्जनभन्दा बढी सहरमा यो सुविधा उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित गत माघ २० गतेदेखि काम अगाडि बढाएको थियो । टेलिकमका अनुसार पछिल्लो समय ५० भन्दा बढी जिल्लामा फोरजी नेटवर्क विस्तार भइसकेको छ ।

टेलिकमले असोज १५ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै देशका पाँच दर्जन ठाउँमा एकैपटक फोरजी सेवा विस्तार गरेको जनाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्क भदौसम्मको मात्र भएकोले असोजको तथ्याङ्क यसमा समेटिएको छैन । टेलिकमले करिब २० अर्ब रुपियाँ लगानी गरेर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको फोरजी नेटवर्क विस्तार परियोजनाबाट ६५ लाख ग्राहक थप हुने जनाएको छ ।

निजी क्षेत्रको अर्को सेवा प्रदायक स्मार्ट सेलले भने लगानी अभावमा फोरजी सेवा विस्तार गर्न सकिरहेको छैन । प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता तोकिएको अन्तिम समयमा पनि नबुझाएपछि कम्पनीको लाइसेन्स खारेजीमा परेको थियो । आफ्नो लाइसेन्स जोगाउन सरकारसमक्ष पुनरवेदनमा गएकोमा स्मार्टको उक्त निवेदन अहिले मन्त्रिपरिषद्को समितिमा छलफलको क्रममा छ । प्राधिकरणको तथ्याङ्कअनुसार विगत एक वर्षको अवधिमा मात्रै २३ लाखभन्दा बढी फोरजी ग्राहक थपिएका छन् ।