पैसा नहुँदा गर्भवती महिलाको ज्यान गयो

मूलखबर संवाददाता
उदयपुर, १७ मंसिर

उपचारका लागि पैसा नहुँदा उदयपुरको उदयपुरगढी गाउँपालिका– ८ की गर्भवती महिलाको ज्यान गएको छ । आइतवार बिहान प्रसूति बेथा लागेर जिल्ला अस्पताल गाईघाट ल्याइएकी २४ वर्षीया सरिष्मा आचार्यको उपचारका लागि रकम अभावमा मृत्यु भएको हो ।

उनलाई श्रीमान प्रेम बुढाथोकीले अस्पताल ल्याएका थिए । चिकित्सकले प्रारम्भिक उपचारपछि तत्काल बाहिर लैजान सुझाव दिए । तर उनीसँग अन्यत्र लैजान पर्याप्त रकम थिएन । जिल्ला अस्पताल गाईघाट ल्याउन पनि उनले घरबेटीसँग एक हजार रुपैयाँ मागेका रहेछन् ।

गर्भवतीको शरीरमा रगतको मात्रा कम भएको र जतिसक्दो चाँडो रगत चढाउनु पर्ने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक अमरेशकुमार मेहत्ताले रेफर गरेका थिए । तर श्रीमान प्रेमले रकम अभावमा अन्य अस्पताल लैजान सकेनन् । फलस्वरुप रेफर गरेको केही घण्टामा नै अस्पतालमै गर्भवतीको ज्यान गयो । त्यसपछि श्रीमान प्रेम आफन्त बोलाउन जाने बहानामा अस्पतालबाट बाहिरिए र पुनः फर्केर आएनन् ।

गर्भवतीको शरीरमा रगतको कमि भएकाले रक्त अल्पता भएको र फोक्सोमा पानी जमेकाले नाक, मुखबाट रगत बगेर मृत्यु भएको जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक मेहत्ताले बताए ।

‘अस्पताल ल्याउँदै गर्दा नै महिला धेरै कमजोर देखिन्थिन्, जचाउँदा रगत ७।९ मात्र देखिएपछि तत्काल बाहिर लान सुुझायौं,’ डा। मेहत्ताले भने, ‘तर आर्थिक अभावका कारण उपचारमा खासै चासो देखाएको पाएनौं । बरु श्रीमतीको मृत्यु भएपछि श्रीमान नै बेपत्ता भए ।’

गाईघाट अस्पतालका प्रशासक तथा सूचना अधिकारी बृखबहादुर खत्रीले बाहिर लैजान पैसा नहुँदा गर्भवतीको ज्यान गएको बताए ।

खोटाङ र उदयपुरमा विभिन्न मितिमा गरेको गर्भवती चेकजाँच पुर्जामा रक्त अल्पता देखाएको छ । खत्रीले भने, ‘सायद आर्थिक अभावले पनि गर्भवती महिलाले पोषिलो खानेकुरा खान नपाएको देखिन्छ । यस्तै आइरन, क्याल्सियम जस्ता औषधि सेवन नगरेको देखिन्छ ।’

खत्री दम्पती त्रियुगा नगरपालिका– १२ डिएमगेटमा डेरा गरी बस्दै आएका थिए । श्रीमतीको मृत्यु भएपछि निस्केका प्रेम नफर्केपछि शव अस्पतालमा बेवारिसे भएको छ ।

गर्भवतीको यस अघि ३ ठाउँमा गर्भ जाँच गरिएकोमा सबैमा रक्त अल्पता देखिएको पुर्जीमा उल्लेख छ । गत ५ असारमा खोटाङको बुइपा स्वास्थ्य चौकीमा जचाइएको पुर्जीमा ‘सरिस्मा आचार्य’ नाम र रगत ७.४ उल्लेख छ भने २ साउनमा दिक्तेल अस्पतालमा जचाउँदा ‘सरिस्मा बुढाथोकी’, रगत ७.३ उल्लेख छ । ५ असोजमा गाईघाट सिभिल अस्पतालमा जचाएको पुर्जीमा रगतको अवस्था ७.५ उल्लेख छ भने आइतबार उदयपुर अस्पतालमा रगतको अवस्था ७.९ रहेको छ । सिभिल अस्पतालमा उनको ठेगाना ‘उदयपुरगढी गाँउपालिका– ८ उल्लेख भएको खबर राजधानी दैनिकमा छ ।