१३ औं सागको उद्घाटन आज : यस्तो छ तयारी, दुलही झैं सिंगारियाे रंगशाला क्षेत्र

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर ।

आजबाट तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) शुरु हुँदैछ । सागको उद्घाटन आज हुँदैछ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीले गर्नुहुने जनाइएको छ । उद्घाटन साँझ पाँच बजे हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नुहुने तथा दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नुहुनेछ।
उद्घाटन कार्यक्रम गरिने स्थल दशरथ रंगशाला र वरिपरिका क्षेत्र दुलही झैं सिंगारिएका छन् । ठूला आकर्षक वत्तिको प्रकाश, म्युजिक सिस्टम, झकिझकाउ गेट र मैदानले आजको कार्यक्रम थप अकर्षक हुने भएको छ ।
उद्घाटन कार्यक्रममा पुर्व प्रधानमन्त्रीहरु, राजनीीतक दलका प्रमूख नेताहरु, सरकारका मन्त्रीहरु र विशिष्ट पाहुनाहरुको उपस्थिति रहने जनाइएको छ ।

तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराई, बहुजातीय, भेषभुषाको विविधता झल्किने झाँकीहरु पनि प्रस्तुत हुनेछन् ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढीको सहभागिता रहनेछ । यस्तै, सहभागि देशका खेलाडीले मार्चपास गर्नेछन् ।

उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन् । अञ्जु पन्त, दिपक बज्रचार्यलगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् ।

उद्घाटनसँगै भलिबलको सेमिफाइनल खेल हुनेछ भने ब्याडमिन्टन, खोखो र करातेको पनि उद्घाटन हुनेछ ।