हस्तकला ब्यापार मेला शुरु : ८ वटा प्याभिलियन र २ सय स्टल रहने
काठमाडौंको भृकुटीमण्डपमा १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता शुरु भएको छ ।
नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहति मेलाको आयोजना गरेको जनाएको छ । महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले बिहीबार देखि शुरुभएको मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको बताउनुभयो ।
मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता रहेको छ । मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिएको संयोजक शाक्यले बताउनुभयो ।
मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय वटा स्टल रहेका छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा स्टल रहेका छन् । संयोजक शाक्यले हस्तकला कलाकार तथा कालिगढहरुबीच प्रतिस्प्रधा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने बताउनुभयो छ । मेला मंसिर १६ गते सम्म चल्ने छ ।