
भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय वार्ता गर : कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः आग्रह गरेको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सो समस्या समाधानका लागि परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गर्नु भयो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सो समस्या समाधानका गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि स्पष्ट पार्नु भयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले सो जिम्मेवारी पूरा गर्ने हुन वा होईनन् भन्ने कुरा नियाली रहेको पनि बताउनु भयो । सीमा सम्बन्धि सो समस्या समाधानका लागि सरकारलाई सबै खालको सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि प्रवक्ता शर्माको भनाई छ ।
‘राष्ट्रिय एकता निर्माण भएको यो ऐतिहासिक कालखण्डमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखी उच्चस्तरको कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भन्नु भयो,‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ ।’
प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
