एक इन्च जमिन छोड्न सक्दैनौं, अरुको एक इन्च पनि चाहिँदैन : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु एक इन्च जमिन छोड्न पनि नसक्ने र अरुको एक इन्च जमिन पनि नचाहिने बताउनुभएको छ ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो ‘हामी नेपाली यही मान्यतामा उभिने हो ।’
पुर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभयो। प्रचण्डले अनावश्यक उत्तेजना फैलाएर समस्या समाधान नहुने पनि बताउनुभयो ।

‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो भन्ने प्रष्ट छ यसमा कुनै कन्फ्युजन छैन प्रचण्डले थप्नुभयो ‘प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्छ ।’

कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै उहाँले भन्नुभयो ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन । यही मान्यतामा उभिने हो ।’

अन्तराष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘कुरा मिलेन भने अन्तराष्ट्रियकरण अहिले भन्न हुँदैन । त्यसले हामीलाई फाइदा पुग्दैन । हुँदै भएन भने के गर्ने त्यतिबेला सोचौंला नी ।
प्रचण्डको दोश्रो प्रधानमन्त्रीत्वकालमा कुटनैतिक रुपमा नेपालको भुमिकाको प्रशंसा पनि गरिएको थियो । त्यसैगरी प्रचण्डले शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणमा खेलेको भुमिकाको अन्तराष्ट्रिस्तरमा प्रशंसा गरिएको थियो ।