सत्तारुढ नेकपाको सचिवालय बैठक आज : एकताको पूर्णता, उपनिर्वाचन देखि मन्त्रीको समिक्षासम्म

मूलखबर संवाददाता
काठमाडौ, २५ कात्तिक ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबार बस्न लागेको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति भएको थियो । सहमतिअनुसार आज नौ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकाी निवासमा सचिवालय बैठक बस्न लागेको हो । ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी, पार्टी एकताको बाँकी काम टुंगो लगाउँनेलगायतका विषयमा छलफल हुने बताए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । सचिवालय बैठकबाट सो विषयमा समेत छलफल गरी अगाडि बढने सहमति अध्यक्षद्वय ओली र दाहालका बीचमा भएको छ ।

सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत गम्भीर समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने बताइएको छ । यस्तै, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुनेछ । भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भए पनि नेताहरूबीचको विवाद र अन्य व्यस्तताका कारण यो विषय ओझेलमा पर्दै आएको थियो । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वयबीच सहमति जुटेपछि सचिवालय बैठक डाकिएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भए पनि पोलिटब्युरो, आयोग गठनको काम अझै टुंगो लागेको छैन । एकताको बाँकी काम कसरी टुंगो लगाउने र पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने विषयमा छलफल भएको छ ।
पोलिटब्युरो गठनका साथै अनुशासन, लेखा, निर्वाचन गरी तीन आयोग अहिले गठन हुन सकेको छैन । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न अझै बाँकी नै रहेको छ ।-राजधानीबाट