विप्लव नेकपाको केन्द्रीय सदस्यसहित १६ गिरफ्तार (नामावलीसहित)

मूलखबर संवाददाता
बाजुरा, २३ कात्तिक

सरकारद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जना गिरफ्तारीमा परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ सहित १६ नेता–कार्यकर्तालाई बाजुराबाट प्रहरीले शुक्रबार गिरफ्तार गरेको हो ।

पक्राउ परेकाहरुमा ओलीसहित डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमनलाल थापा, धर्मबहादुर थापा, उदय कसेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह पनि रहेका छन् ।
गौमुल गाउँपालिका– ३, माझपालीबाट दिउँसो उनीहरुलाई पक्राउ गरिएको जानकारी बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटले दिएका छन् । ओलीलाई यसअघि वैशाख ६ मा पनि सांगठनिक काममा खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका– ३, राम्रीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई संगठित अपराध, विष्फोट, हातहतियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै ओलीलाई रिहा गर्न जेठ २४ मा सर्वोच्च अदालतले आदेश दिएको थियो । रिहालगतै उनलाई पुनः पक्राउ गरेर सुनसरी लगिएको थियो । ओलीलाई सुनसरी जिल्ला अदालतले असार २४ मा साधारण तारिखमा रिहा गरेको थियो ।