टुँडिखेल अतिक्रमणविरुद्ध अकुपाई टुँडिखेल अभियान शुरु, काे काे छन् अभियानमा ?
टुँडिखेल अतिक्रमण विरुद्ध अभियान शुरु भएको छ । काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ नाम दिएर अतिक्रमण विरुद्ध अभियान सुरु गरिएको हो ।
शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो । खुलामंचलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ ।
भुकम्प पछि अस्थाई रुपमा प्रयोग गर्ने गरि खुलामंचको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थाई प्रकृतिका संरचना बन्न थाले पछि बिरोध हुदै आएको छ । यसरि खुलामंच अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन् ।
खुलामंचमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ । यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामंचमा राखिएको छ त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन् ।