१० महिनामा १० लाख पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै चिनियाँ पर्यटक

मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक ।

विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।

नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् ।

अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।

अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् ।

काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ । चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ । भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् ।

त्यस्तै चीनसहित एसिया क्षेत्रबाट करिब २९ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक आगमनको महादेशीय हिसाबले एसिया क्षेत्रबाट पर्यटकको सङ्ख्यामा सामान्य वृद्धि भए पनि तुलनात्मक रूपमा बढी खर्च गर्ने मानिएका युरोप र अमेरिकाबाट नेपाल आउने सङ्ख्या भने घटेको छ । युरोपबाट सबैभन्दा बढी बेलायतबाट आठ हजार ६७२ जना पर्यटक नेपाल आएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा सात दशमलव चार प्रतिशतले कम हो । त्यसपछि जर्मनीबाट सात हजार ३०८ र फ्रान्सबाट छ हजार ७७७ पर्यटक आएको तथ्याङ्क छ । यी दुवै देशबाट क्रमशः २.५ र ९.६ प्रतिशतले पर्यटकको सङ्ख्यामा कमी आएको छ । युरोपका अधिकांश मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी देखिएको छ ।

समग्रमा गत वर्ष ४४ हजार ७७३ युरोपेली पर्यटक अक्टोबरमा नेपाल आएकोमा समीक्षा अवधिमा पाँच दशमलव पाँच प्रतिशतले घटेर ४२ हजार २९७ पर्यटक नेपाल आएका छन् ।
अमेरिकी क्षेत्रबाट मुख्यतः क्यानडा र संयुक्त राज्य अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २.४ प्रतिशतले कमी आएको छ । संयुक्त राज्य अमेरिकाबाट १२ हजार एक सय पर्यटक आएका छन् जुन अघिल्लो अक्टोबरको तुलनामा दुई दशमलव पाँच प्रतिशतले कम हो ।

ओसियाना क्षेत्रअन्तर्गतका अस्टे«लिया र न्युजिल्यान्डबाट आउने पर्यटकको सङ्ख्या ३.७ प्रतिशतले घटेर छ हजार तीन सय पुगेको छ । जेट एयरको उडान बन्द भएको र गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व सम्मेलनका कारण अधिकांश ठूला होटल व्यस्त भएपछि सिट अभावमा यस्ता मुलुकका देशको पर्यटक सङ्ख्यामा कमी आएको पर्यटन व्यवसायीको भनाइ छ ।
१० महिनाको अवधिभर नेपाल भित्रनेमा सबैभन्दा बढी भारतबाट एक लाख ७० हजार र चीनबाट एक लाख ३४ हजार दुई सय पर्यटक छन् । यो खबर गोरखापत्रमा विश्वास रेग्मीले लेखेका छन् ।