
उपनिर्वाचनको रन्को : आज मनोनयन दर्ता गरिँदै, कहाँ को को भिड्दैछन ?
काठमाडौं, २१ कात्तिक
आगामी मंसिर १४ गतेका हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा उपनिर्वाचनको रन्को शुरु भइसकेको छ । निर्वाचन आयोगले सार्वजनीक गरेको कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरिँदैछ । उपनिर्वाचनका लागि सबै राजनीतिक दलले उम्मेदवारको टुंगो लगाइसकेका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभाको हकमा आज विहिबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीयतहको हकमा भने कात्तिक २७ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
३७ जिल्लामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह प्रमुखसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका ५२ पदका लागि उपनिर्वाचन हुने लागको हो ।
प्रतिनिधिसभातर्फ रिक्त कास्की क्षेत्र नम्बर २ मा र प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नम्बर २ (ख), भक्तपुर क्षेत्र नम्बर १ (क) तथा दाङ क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनमा दलहरुले उम्मेदवारहरु खडा गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, सत्ता साझेदार दल समाजवादी पार्टी, साझा पार्टी, विविकशील नेपाली दल र राप्रपालगायतका दलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
नेकपा र राष्ट्रिय जनमोर्चा पार्टीबीच तथा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा०बीच चुनावी तालमेल भएको छ । बाग्लुङ २ ‘ख’ मा सत्तारुढ नेकपाले जनमोर्चालाई समर्थन गरेको छ भने कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले नेकपालाई समर्थन गरेको छ । तर, काँग्रेस, साझा, विवेकशीललगायतका दल एक्ला–एक्लै चुनावी मैदानमा होमिएका छन् ।
कहाँ कहाँ को को भिड्दै ?
कास्की २, प्रतिनिधिसभा
कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि मा हुन लागेको उपनिर्वाचनका लागि नेकपाबाट पुर्व पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई र काँग्रेसबाट खेमराज पौडल निर्वाचनमा भिड्दैछन् ।
यस्तै समाजवादी पार्टीले पूर्वगोर्खा सैनिक धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, विवेकशीलले जमुना शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।
तत्कालीन बामगठबन्धनबाट विजयी रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की दुईमा उपनिर्वाचन हुन लागको हो ।
प्रदेशसभा – भक्तपुर १ (क)
भक्तपुर १ (क) मा नेकपाबाट देवीप्रसाद ढकाल (डिपी) उम्मेदवार बनेका छन् । उनीसँग काँग्रेसबाट कृष्ण कँडेल भिड्दैछन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि उम्मेदवारी दिने बताएपनि उम्मेदवारको नाम घोषा गरेको छैन ।
त्यसैगरी समाजवादीले पनि अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । साझाबाट सुरज प्रधान र राप्रपाबाट श्याम नेपाल चुनावी मैदानमा उत्रिएका छन् । यहाँ नेकपा, काँग्रेस र नेमकिपालाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएको छ । तत्कालीन बाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।यस अघि पाटीृका आधिकारीक उम्मेदवार बनेका ढकालले एमालेबाट बागी उम्मेदवार बनेका लामिछानेलाई छाडिदिएपछि लामीछाने विजयी बनेका थिए ।
बाग्लुङ २ (ख) प्रदेश सभा
बाग्लुङ २ (ख) मा नेकपाको समर्थनसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा उत्रिएका छन् भने काँग्रेसका तर्फबाट जित शेरचन । यस्तै समाजवादीले अशोककुमार विक र राप्रपाले गणेश कुँवरलाई प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उतारेको छ ।
०७४ को चुनावमा बाग्लुङ २ ‘ख’ मा जनमोर्चाकै टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
दाङ ३ (ख) प्रदेशसभा
दाङ ३ (ख) मा हुने उपचुनावमा नेकपाले उत्तम वलीकी पत्नी विमला वलीलाई चुनावी मैदानमा उतारेको छ भने काँग्रेसले केशव आचार्यलाई अघि सारेको छ । समाजवादीले दिल्लीबहादुर डाँगी, साझाले शिव चौधरी र राप्रपाले भूपाल रावतलाई चुनावी मैदानमा पठाएको छ ।
दाङमा नेकपा र काँग्रेसबीच नै भिडन्त हुने देखिएको छ । दाङ ३ (ख)मा तत्कालीन बाम गठबन्धनबाट विजयी उत्तम वलीको सवारी दुर्घटनामा परेर निधन भएको थियो ।
धरान उपमहानगर
सुनसरीको धरान उपमहानगरपालिकामा मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा उपचुनाव हुँदैछ ।
जसमा धरान उपमहानगरपालिकाको मेयरमा नेकपाले प्रकाश राई, काँग्रेसले तिलक राई, समाजवादीले गजेन्द्र इस्वो, साझाले राजन कुमार श्रेष्ठलाई मैदानमा उतारेको छ ।
तत्कालीन एमालेबाट मेयरमा निर्वाचित तारा सुब्बाको निधन भएपछि धरान उपमहानगरपालिकामा उपनिर्वाचन लागेको हो ।
