
पुर्व सभासद झक्कु सुवदीलाई हृदयघात, उपचारपछि खतरामुक्त
सत्तारुढ नेकपा तथा संविधानसभाका पूर्व सभासद झक्कुप्रसाद सुवेदीलाई अकस्मात ह्दयघात भएपछि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भैरहेको छ ।
सोमबार बिहान उपत्यका बाहिर जानेक्रममा नागढुंगा पुगेका सुवेदीलाई अकस्मात समस्या देखा परेपछि त्यहिबाट फर्काएर बिहान ११ बजे नर्भिक पुर्याईएको थियो । अस्पतालसँग फोन सम्पर्क गरेर आएकाले सुवेदीलाई अस्पताल पुग्नासाथै आवश्यक उपचार प्रक्रिया अगाडि बढाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
सुवेदीलाई हृदयाघात भएको र डा जेपी जैसवालको टोलीले एन्जियोप्लाष्टि गरेको अस्पतालले जनाएको छ । सुवेदीको मुटुको दायाँ तर्फको नसा पूर्ण रुपमा बन्द भएको अवस्थामा अस्पताल पुगेको र एन्जियोप्लाष्टिपछि बन्द भएको नसा खुलाइएको र अहिले सुवेदीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकलाई उदृत गर्दै पारिवारिक श्रोतले बताएको छ ।
सुवेदी संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं २ मा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई निर्वाचनमा पराजित गराउन सफल नेताको रुपमा चर्चित थिए ।
