प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज : स्वास्थ्य सामान्य, तर आरामको जरूरी

मूलखबर संवाददाता
काठमाडौं, १५ असाेज

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ ।

प्रधानमन्त्री एवम्  नेकपा अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो ।

प्रधानमन्त्री अाेलीकाे दुबै मृगाैला प्रत्यारोपण गरिएकोमा पुन समस्या देखिएपछि १ महिना अघि सिंगापुरमा गई प्लाज्माफेरिसिस गरिएको थियाे । उहाँको शरिरमा एन्टिबडि बढ्न गएपछि उहाँकाे ग्रान्डी अस्पतालमा डायलासिस गरिएकाे थियाे । त्यस क्रममा केही घण्टा अाइसियुमा समेत उहाँलाई राखिएको थियाे ।

सरकार र प्रधानमन्त्री सचिवालयले सहि सुचना नदिएकाे र केहिदिन अझै अस्पतालमा बस्नुपर्ने भन्ने खबर अाईरहेका बेला बिहिवार अस्पताल पुग्नुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठिक भएकाे र बिहीबार राति नै बालुवाटार फर्कने जानकारि दिनुभएकाे थियाे ।

प्रधानमन्त्री अाेली अस्पतालबाट डिस्चार्जपश्चात् हिँडेरै गाडिसम्म पुग्नुभएकाे थियाे ।

प्रधानमन्त्री अाेलीलाई अारामकाे अनिवार्यता

प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार सिंगापुरबाट फर्कने बेलामा नै प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले आराम गर्न र ‘इन्फेक्सन’ बाट बच्न भनेका थिए । तर, प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह विपरीत आफ्नो स्वास्थ्यको ख्यालै नगरी सक्रिय रहँदै आएका छन् ।

सधैं सक्रिय रहन चाहने प्रधानमन्त्रीको स्पिरिट र आराम गर्नुपर्ने उनको शारीरिक अवस्थावीच तीब्र अन्तरविरोध देखा परेको छ ।

चिकित्सकहरुको विश्लेषणमा प्रधानमन्त्री ओलीले अब हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने सम्भावना देखिएको छ । हुन त नियमित डायलासिस गरेर पनि मानिसले आफूलाई दैनिक जीवनमा सक्रिय बनाउन सक्छ ।

तर, प्रधानमन्त्री ओलीको मृगौला १२ वर्षअघि नै ट्रान्सप्लान्ट गरिएको हुनाले हप्तामा दुईपटक डायलासिस गर्दै प्रधानमन्त्रीकै भूमिका निभाइरहनु जोखिमपूर्ण हुने र अब प्रधानमन्त्री ओलीले आराम गर्दा नै आफ्नो शरीरमाथि न्याय हुने चिकित्सकहरु बताउँछन् ।