प्रधानमन्त्री ओलीकाे डायलासिस : अवस्था सामान्य रहेकाे जानकारी, अझै अस्पतालमै

मूलखबर संवाददाता
काठमाडौं, १३ कात्तिक

नियमित स्वास्थ्य परीक्षणको लागि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार डायलासिस गरिएको छ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीको डायलासिस करिब दुई बजेतिर सकिएको थियो। डायलासिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियूमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको छ। प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उनले सोफामै बसेर कुरा गरेको बताईएकाे छ ।

स्रोतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि स्रोतले बतायो।

शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ।

स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ।

रगतमा ‘एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरेका थिए। रगतमा रहेको प्लाज्माले ‘एन्टिबडी’ बोक्ने काम गर्छ। प्लाज्माफेरेसिस मार्फत ‘एन्टिबडी’ भएको प्लाज्मा छानेर निकालिन्छ।

केही गरी अहिलेको मिर्गौलाले काम गर्न नसक्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प प्रधानमन्त्री ओलीसँग बाँकी नै छ। दुई वा दुईभन्दा बढी पटक मिर्गौला प्रत्यारोपण गरेर पनि मानिस स्वस्थ रहन र सक्रिय रूपमा काम गर्न सक्छन्।

ग्राण्डी अस्पतालमा अहिले भइरहेको उपचार अस्पताल र प्रधानमन्त्री कार्यालय दुवैले गोप्य राखेका छन्। उपचारका लागि बिहान प्रधानमन्त्री अस्पताल पुग्दा प्रधानमन्त्री कार्यालयले उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएको र केही छिनमा फर्किने बताएको थियो।

दिनभरनै प्रधानमन्त्री कार्यालय वा अस्पतालले उनको उपचारबारे कुनै ‘अपडेट’ दिएनन्। साँझ ग्राण्डी अस्पतालका प्रमुख चक्रराज पाण्डे र ग्राण्डीकी नेफ्रोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र भोलि अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ।

प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया वा पोटासियम बढेको वा उनको डायलासिस गरिएको कुनै पनि कुरा विज्ञप्तिमा उल्लेख छैन।

फेरि प्लाज्माफेरेसिस कि प्रत्यारोपण ?

प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो। रगतमा रहेको पारदर्शी वस्तु हो प्लाज्मा। यसले रेड सेल, ह्वाइट सेल, प्लेटलेट्स र ब्याक्टेरिया, भाइरससँग लड्ने ‘एन्टिबडी’ बोक्ने गर्छ।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौला बिग्रिएर १२ वर्षअघि मिर्गौला फेरिएको हो। शरीरमा अर्को मानिसको मिर्गौला आएपछि बाह्य वस्तुसँग लड्ने ‘एन्टिबडी’ले सो मिर्गौलालाई पनि कुनै हानिकारक वस्तु शरीरमा आएको ठान्छ। त्यसपछि मिर्गौलालाई मार्न आक्रमण गर्न थाल्छ।

मिर्गौलालाई धेरै हानी नपुगोस् भनेर डाक्टरहरूले औषधिमार्फत् एन्टिबडीलाई कमजोर बनाएर राख्छन्। तर एन्टिबडीलाई पूरै कमजोर पार्न पनि सकिन्न।

किनभने शरीरमा प्रवेश गर्ने अरु भाइरस, ब्याक्टेरिया लगायतका हानिकारक तत्वसँग लड्ने पनि एन्टिबडीले नै हो। प्लाज्माफेरेसिसबाट रगतको प्लाज्मालाई छानेर निकालिन्छ। प्लाज्माले नै एन्टिबडी बोक्ने हुनाले यो एन्टिबडी पनि प्लाज्मासँगै बाहिर जान्छ। प्लाज्माफेरेसिस प्रभावकारी नभए फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ।