माझी राष्ट्रिय गोल्डकप चौंथो दिन पनि जारी, मकवानपुर र सिन्धुलीबीच भिडन्त(तस्विरहरू)
नेपालमै पहिलो पटक माझी समुदायले आयोजना गरेको माझी गोल्ड कप खेलकुँद चौथो दिन पनि जारी छ । चौथो दिन माझी समुदायकी सांसद रिता माझीको प्रमूख आतिथ्यता र बाग्मती गाउँपालिका प्रमूख सर्केश घलानको विशेष आतिथ्यतामा शुरु भएको आजको खेलमा घरेलु टिम मकवानपुर र छिमेकी जिल्ला सिन्धुलीको टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।
हिजो तेश्रो दिन भएको खेलमा स्याङ्जाबिरुद्ध खोटाङले शानदार जीत हासिल गरेको थियो । हिजो भएको दोस्रो खेलमा खोटाङले स्याङ्जालाई ४ गोल गर्दै जीत हात पारेको रेफ्री सन्तोष राईले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा रौतहट बिरुद्ध धनुषाले जीत हात पारेको थियो । रौतहटको १ गोलका बिरुद्ध २ गोल गर्दै धनुषा विजयी बनेको हो ।
धनुषाको तर्फबाट जर्सी नं। १० का प्रविण माझीले खेलको ४४औं मिनेटमा र ६५औं मिनेटामा २ गोल गर्न सफल भए । खेलमा रौतहटको तर्फबाट जर्सी नं. १० का सुरेश माझीले खेलको ५९औं मिनेटमा १ गोल गरी टिमलाई योगदान दिए । साथै सुरेश माझी म्यान अफ द म्याच बन्न सफल भए ।
हिजो भएको दोश्रो खेलमा खोटाङका लागि जर्सी नं. १५ का बिक्रम माझीले खेलको ५ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यसपछि जर्सी नं ८ का निरोज माझीले खेलको १०औं मिनेटमा, जर्सी नं. ७ का साजन माझीले १३ मिनेटमा र जर्सी नं १० का दिनेश माझीले ३०औं मिनेटमा गोल गर्दै टिमलाई शानदार जीत दिलाएका हुन् । यससँगै खोटाङ टिमका जर्सी नं १० बाट खेलेका दिनेश माझी म्यान अफ द म्याच घोषित भएका थिए ।
माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगिता मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजना गरिएको छ । उक्त गोल्डकपको नाम प्रथम राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता राखीएको छ ।
प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १६ वटा टिम सहभागी भएका छन् । कात्तिक ९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गरेका थिए । राष्ट्रको लागी खेल ,स्वास्थ्यको लागि खेल, माझी युवा सशक्तीकरण र पहिचानको लागि खेल भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता २०७६ आयोजना गरिएको छ ।
कार्तिक १ गतेबाट शुरु हुने प्रतियोगिताको समापन भने कात्तिक ९ गते प्रदेश ३ का सामाजिक विकास मन्त्री कार्तिक ९ गते सामाजिक विकास मन्त्री माननीय युवराज दुलाल शरदले गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा १४ जिल्लाका १६ टिम सहभागी हुने भएका छन् । माझी समुदायले आफ्नो जातीय पहिचान झल्किने पोसाक तथा सास्कृतिक झाकी सहित कार्यक्रममा सहभागि भएका थिए ।
नेपाल माझी उत्थान संघको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु बकैया गाउँपालिका वडा नं ४ स्थित जुरेलीमा रहेको जुरेली खेल मैदानमा भइरहेको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश ३ का सांसद तथा नेकपा दल सचेतक बुद्धिमान माझी, माझी मोर्चाका अध्यक्ष तुलाबहादुर माझी, महासचिव उर्मीला माझी लगायत ३ नं प्रदेशका सांसदहरु, गाउँ पालिका अध्यक्षसहितका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।