अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लागौं : उपराष्ट्रपति पुन
काठमाडौं, २७ असोज
उपराष्ट्रपति नन्दबहादुर पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्ने बताउनुभएको छ ।
राजधानी काठमाण्डौमा आयोजित मगरहरुको दोश्रो अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेकाले प्राप्त अधिकारलाई संस्थागत र संरक्षण गर्नुपर्ने बताउनुभएको हो । उपराष्ट्रपति पुनले संविधान गतिशिल दस्तावेज भएकाले जनजातिको बाँकी अधिकारका लागि समय सन्दर्भ अनुसार संविधानमा समावेश गर्दै लैजान सकिने भन्दै अपुग भएका कुराहरु पुरा हुदै जानेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न आग्रह गर्नुभयो । भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै उहाँले “म को हुँ ?”भन्ने मनोविज्ञान बचाई राख्नु नै महत्वपुर्ण भएको बताउनुभयो ।
उहाँले विश्वभर मगर समुदायका नेपालीले उल्लेखनिय काम गरेर चर्चामा आएको दृष्टान्त दिदै मगर समुदायका ‘रोलमोडल’ लाई हेरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
विभिन्न देशबाट आएमा मगर समुदायका प्रतिनिधि र सहभागीहरुले आ–आफु कार्यरत रहेको देशमा आफुले गरेका कामहरुको बारेमा पनि छलफल गरेका थिए ।