फिफा विश्वकप छनौट खेलका खेलाडी विदाई, नवयुग र अजित फर्किए टोलीमा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १५ असोज

सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मंगलबार विदाई भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपालीलाई एक कार्यक्रम गरी विदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक रणनीति अनुसार सुखद नतिजाका लागि खेल्ने बताए । विदाई कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक रणनीति अनुसार सुखद नतिजाका लागि खेल्ने बताए । कप्तान चेम्जोङले दशरथ रंगशाला समयमा नै बनोस् भन्दै घरेलु समर्थक माझ आफूहरु खेल्न आतुर रहेको बताउनु भयो ।

नवयुग श्रेष्ठ र अजित भण्डारी टोलीमा फर्किए

यस्तै कुवेतसँगको खेल पछि आराम पाएका नवयुग श्रेष्ठ र अजित भण्डारी टोलीमा फर्किएका छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा छनोट खेलको आफ्नो तेस्रो खेल खेल्दैछ ।

अस्ट्रेलियासँगको खेल पछि टोली अस्ट्रेलियाबाट असोज २८ गते जोर्डन सँग हुने खेलका लागि जानेछ । यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ ।

छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो ।

नेपालसँगै समूह ‘बी’ मा रहेको अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।

भूकम्पले भत्काए पछि दशरथ रंगशालामा कुनै प्रतियोगिता भएको छैन साथै पुननिर्माणको काम भइरहेको छ ।