शान्ति सुरक्षाको उचित व्यवस्था गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं, १४ असोज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिनु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । मंगलबार महाराजगंजमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उहाँले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताउनु भयो ।
प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गराउनु भयो ।

सो भवनमा अत्याधुनिक लिफ्टको पनि व्यवस्था गरिएको छ । डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ । प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुने विश्वास व्यक्त गर्नु भयो ।