नेपाल खुला दिशामुक्त राष्ट्र घोषीत : महत्वपूर्ण खुट्कीलो चढियो : प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, १३ असोज

आज (२०७६ असोज १३ गते सोमबार) बाट नेपाल खुला दिशा मुक्त राष्ट्र बनेको छ । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष कार्यक्रमका बीच आज राष्ट्रिय सभा गृहबाट नेपाललाई खुला राष्ट्र घोषणा गर्नुभएको हो ।

देशका ७७ वटै जिल्लाहरु खुला दिशा मुक्त घोषणा भइसकेको जानकारी दिँदै प्रधानमन्त्रीले देश नै सम्पूर्ण रुपले खुला दिशा मुक्त राष्ट्र घोषणा गरेको बताउनुभयो । उहाँले यो नेपालको इतिहासमा एउटा महत्वपूर्ण खुट्कीलो भएको र सो खुट्कीलो खानेपानी मन्त्री विना मगरको पहलकदमीमा पार गरिएको भन्दै मन्त्री र मन्त्रालयको प्रशंसा गर्नुभयो ।

फूलका थुंगाले छोपिएको फ्रेममा भएको खुला दिशा मुक्त राष्ट्र घोषणाको पत्र पढ्दै प्रधानमन्त्रीले त्यसो गरिरहँदा नेपाल र नेपालीको शिर उचो बनाएको बताउनुभयो । घोषणा पछिको सम्वोधनमा प्रधानमन्त्री ओलीले अब नेपाल भोखमरी र भिखारी मुत्त नेपाल बनाईने खुलासा पनि गर्नुभयो ।

कार्यक्रमको सभापतित्व समेत गरेर्नुभएकी खानेपानी मन्त्री मन्त्री बिना मगरले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई यस घोषणाले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशहरुमा निर्माण गरिएका शौचालयहरुको समेत तथ्यांक पेश गर्दै अझै केही चुनौतिहरु बाँकी रहेको जानकारी दिनुभयो । आफुहरु चुनौतिहरुसँग जुधेरै सफलतामा पुग्न सक्ने विश्वास उहाँको थियो । उहाँले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताउनुभयो ।

मन्त्री मगरले नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बनेकोमा खुशी व्यक्त गर्दे यस अभियानमा साथ दिने र सहभागिता जनाउने सबै नेपाली बधाईको भागिदार र हकदार भएको बताउनुभयो । मन्त्री मगरले नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि अब पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुने बताउनुभयो ।

मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराउनुभयो । उहाँले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

‘ हामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान सफल सावित भएको छ ।’ मन्त्री मगरले थप स्पष्ट पार्दै भन्नुभयो, ‘यो अभियानमा सरकारको भन्दा नेपाली जनता र मिडियाको भूमिका धेरै छ । यो कुरा अरु देशका लागि पनि प्रेरणादायी हुन सक्छ ।’

हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । ‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ ।

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ ।

कति बने शौचालय ?

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन ग¥यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको भनाई छ ।

समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश नं। ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।