सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्छ – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं,१२ असाेज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने बताउनुभएको छ ।   वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको उहाँको भनाइ छ ।

‘ए एण्ड ए’ काठमाडौं मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गर्नुभयाे । ‘प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून बनाउँदैन’, उहाँले भन्नुभयाे, ‘हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ। प्रेसलाई नियन्त्रण गर्ने कानून टिक्दैन, हामी नियन्त्रण गर्ने पक्षमा छैनौँ।’

सङ्घीय संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक परिमार्जित हुने विश्वास दिलाउँदै अध्यक्षले सो विधेयकलाई संविधानको भावना अनुकूल बनाउने दृढता व्यक्त गर्नुुुभयो । स्वतन्त्रताको अर्थ अराजकता होइन भन्दै  पत्रकारिता जगतले नै छलफल गरेर स्वयं आफैँले स्वनियमन गर्नुपर्ने बताउनुभयाे।

‘अहिले सामाजिक केही अनलाइन तथा सामाजिक सञ्जालमा हेर्नै नसक्ने र सुन्नै नसक्ने सामग्रीको प्रस्तुति भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ’, अध्यक्षले भन्नुभयाेे , ‘सञ्चार जगतले राष्ट्रिय एकतालाई बलियो बनाउने, बिखण्डन होइन, एकढिक्का बनाउने सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुपर्छ।’ उनले न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएकाप्रति दुःख व्यक्त गर्नुुुुुभयाे।

सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो। ‘तथ्यहीन विषयवस्तुसँग नाम जोडेर आउँदा नेतृत्वमा हुनेहरु हैरान हुने गरेका छन्’, अध्यक्षले  ‘नेताको हालत के भएको होला, पत्रकारले सोच्नुहोला।’

सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उहाँले थप्नुुभयाे, ‘यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ। हामीले कहाँ आन्दोलन गर्ने ? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ। कहिलेकाही यसो हेरौँ भन्ने हुन्छ। हेर्नै नसक्ने हुन्छ। आफैँमाथि खनिएको छ, कुनैकुनै कुरा यो त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि।’

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र जनभावना विपरीत जाने गतिविधिलाई सञ्चार माध्यमले परास्त गर्नुपर्छ भन्दै अध्यक्षले भन्नुुभयो याे कुराको फैसला पत्रकारिता जगतबाट हुनुपर्छ। राज्यले कानून बनाएर भन्दा पनि आफैँ स्वनियम बनाएर अगाडि बढ्नुपर्छ।’ सत्यको अनुसन्धान गरेर सत्यमा आधारित रहेर सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकृतिको प्रतिवाद गर्न उहाँले आग्रह गर्नुु भयाे ।

नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो पार्टीले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी कुनै पनि नियम कानून नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे। उहाँले वर्तमान सरकार र नेकपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध छ, प्रेस स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिनेे बताउनुभयाे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सत्य तथ्य पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रगामी सोचका साथ अगाडि बढ्न सुझाव दिनुभयाेे । ‘पेशागत मर्यादा, नैतिकतालाई ख्यालमा राखेर गतिविधि सञ्चालन गर्नुहोला।’ पाेखरेलकाे भनाइ छ ।

नेकपामा स्थायी कमिटी सदस्य लीलामणि पौडेलले पत्रकारिता क्षेत्रमा देखिएको अराजक अवस्थाको अन्त्य गर्न दैनिक अनलाइन सफल हुने विश्वास व्यक्त गर। उहाँले राष्ट्र, राष्ट्रियतालाई सर्वोपरी ठानेर नेपाली जनताप्रतिको उत्तरदायित्व बोध हुने गरी सामग्री उत्पादन गर्न सुझाव दिनुभयाे ।

अनलाइनका अध्यक्ष पवन रेग्मीले आफूहरु सधैँ सत्यको पक्षमा उभिने दृढता व्यक्त गर्दै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले नै अलनाइन सञ्चालनमा ल्याइएको बताए। उनले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर सामाचार सामग्री पस्कने प्रतिबद्धता व्यक्त गरे। रासस