प्रहरीसँग समन्वय नगरेका कारण त्यस्तो घटना घट्याे – एसपी मल्ल
चितवन प्रहरीले ज्ञानेन्द्र बहादुर शाहीमाथी भएको अाक्रमणकाे घटनाबारे धारणा सार्वजनिक गर्दै प्रहरी सँग समन्वय नगरि अगाडि बढेकाले घटना भएको बताएको छ।
प्रमुख एसपी दानबहादुर मल्ल ज्ञानेन्द्र शाहीले आफुहरुसंग कुनै समन्वय नगरी आफुखुसी कार्यक्रममा सरिक हुँदा घटना घट्न गएको बताएका हुन् । शाही चितवन आउने खबर पाएपछी जिल्ला प्रहरी कार्यालय चितवनले उनीमाथिको सुरक्षा खतरा बिश्लेषण गर्दै सकेसम्म चितवनको कार्यक्रममा नआउन आग्रह गरेको जानकारी दिए।
‘तपाईंमाथी सुरक्षा खतरा छ, आउनैपर्ने भए जानकारी गराउनुहोला अनि हामीले सुरक्षाको प्रवन्ध मिलाउछौँ भनेको थियौं तर उहाँले हामीसँग कुनै समन्वय गर्नुभएन।’ मूलखबरसँग संक्षिप्त्त प्रतिक्रिया दिदै एसपी मल्लले भने। ‘ग्लोबल होटेल परिसरमा शाहीमाथी आक्रमण भएको खबर पाउने बित्तिकै तत्काल प्रहरी पुगेर रेस्क्यु गरेकाले थप क्षति हुन पाएन।’
शनिबार दिउँसो भरतपुरको चौबीसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन चितवन पुगेका शाहीलाई चौबीसकोठीमा अवस्थित ग्लोबल होटेलको कम्पाउण्ड भित्र केही युवाहरूको समुहले गाडी भित्रै कुटपिट गरेका थिए। उक्त समुहको आक्रमणमा परेका शाहीको टाउकोमा चोट लागेको छ। उनलाई तत्काल उपचारको लागि चितवन मेडिकल कलेज पुर्याइएको थियो। उनलाई थप उपचारका लागि शनिबार साँझ नै विमानमार्फत काठमाडौं ल्याइएको छ।
शाहीमाथी आक्रमणमा उत्रेको समुहले उनी चढेको माईक्रोबस समेत तोडफोड गरेको थियो। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको चितवन प्रहरीले जनाएको छ।