संविधानमाथिको प्रहार मान्य हुन्न : खाँड

मूलखबर संवाददाता
चितवन, ९ असोज

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिनु भएको छ ।

प्रमुख सचेतक खाँडले संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै प्रहार हुनेगरी केपी ओली नेतृत्वको सरकारले प्रयत्न गरिरहेकाले त्यसप्रति नेपाली जनता र सबै लोकतन्त्रवादीहरुले आपत्ति जनाईरहेको दावी पनि गर्नु भयो । बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन नदिने पनि बताउनुभयो ।

प्रमुख सचेतक खाँडले अहिलेको सरकारले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन अनेक अभ्यास गरिरहेको दावी पनि गर्नुभयो ।