बैंकको ५ अर्वभन्दा बढि रकम विदेश लैजाने योजनामा संलग्न १२ जना पक्राउ (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, ८ असाेज

बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढि रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी ५ अर्वभन्दा बढि रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ, नुवाकोटका लवाङ तामाङ, रसुवाकी निर्मला तामाङ, निमा तामाङ, काठमाडौं काभ्रेस्थलका संजय घले, सर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्या सागर लामिछाने रहेका छन । त्यसैगरी तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई हाल काठमाडौं टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकबाट हालसम्म एकीन खुल्न आएको रकम ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको रकमको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनु भयो । उनीहरुले पानस रेमिट नयाँबानेश्वरबाट पनि १२ लाख ह्याक गरेको खुलासा भएको पनि उहाँले बताउनु भयो ।

महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भनिने पिटरले नेपालीहरुलाई सम्पर्क गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । रकम निकालेर भारत पठाउनेलाई जम्मा रकमको १५ देखि ३५ प्रतिशतसम्म कमीशन दिने गरी सो काममा लगाइएको पनि अनुसन्धानमा खुल्न आएको महाशाखाका प्रमुख थापाले बताउनु भयो ।

त्यसैगरी   जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । सोही कार्यमा संलग्न अन्य ५ जना हाल फरार रहेका छन् ।
पक्राउ पर्नेहरुमा स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवं संचालक काठमाडौं बानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ, काठमाडौं शंखरापुर नगरपालिका-९ लाकिल्ला भुमेथली बस्ने काठमाडौं महानगरपालिका-३ महाराजगंज घर भएका ३८ वर्षीय भुपेन्द्र श्रेष्ठ, झापा चन्द्रगढी-६ ठेगाना भएका गणेश लम्साल, काठमाडौं  बानेश्वर बस्ने भैरहवा खजनाटोल-३ घर भएका किरण कुमार बोहरा, चितवन भण्डारा-१ बस्ने ऋशेश्वर थपलिया, मकवानपुर मनहरा गाउँपालिका-८ बस्ने खैरोङ-३ घर भएका कृष्ण बहादुर कार्की, काठमाडौं महानगरपालिका-४ बस्ने पर्सा वीरगंजका सुषमा शाह, काठमाडौं मैजुबाहाल-७ बस्ने बिभु विक्रम पन्त, बाँके नेपालगंज उपमहानगरपालिका-१ धम्बोजी बस्ने ऋचा श्रेष्ठ, काठमाडौं महानगरपालिका-७ सिफल बस्ने पुष्पराज भण्डारी र काठमाडौं कोटेश्वर बस्ने अजय श्रेष्ठ रहेका छन् ।
स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संचालक सुरेन्द्रले कम्पनीको नाममा झापाको कित्ता नम्बर ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गाको झुठ्ठा विवरण उक्त बैंकमा पेश गरी एक ठाउँको जग्गा देखाई अन्य ठाउँको जग्गा धितोमा राखी बैंकलाई उक्त रकम बराबरको हानी नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरु बिरुद्ध  बैंकिङ कसुर ऐन, २०६४ बमोजिम हदैसम्मको सजाय मागदावी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रहरी प्रतिवेदन पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।