मध्यरात नवलपुरमा दुर्घटना : ६ जनाकाे मृत्यु १६ घाईते (नामावलीसहित)

दिपक भट्टराइ
नवलपुर, ७ असाेज

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन
नारायणढ–बुटवल सडक खण्डको कावासोती नगरपालिकाको खरकट्टा जंगलमा गएराति कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु भएको छ । मृतक सबै कारमा सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवपरासीको देवचुली नगरपालिका-१ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर, कैलालीका सुरज रानामगर, देवचुली-१० का दिपेश राना र हिरा राना मगर छन् ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकसँग कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोकिएर दुर्घटना भएको हो।

त्यसैगरी मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा गएराति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दाङबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको यात्रुबहाक बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते १६ जनाको नवलपुर, कालीगण्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।