बाढीले दुई घर बगाउँदा दुई बालिका बेपत्ता

मूलखबर संवाददाता
काठमाडौं

शनिवार राती आएको भीषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले बताउनुभयो ।
बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।
बुद्ध एकेडेमीको खेल मैदानमा बाढी पसेको र विद्यालयका सबै कोठाहरु बन्द भएका कारण पानी बग्न नपाई एक पक्की सहित ४ वटा भवनहरु मध्ये दुई वटा कच्ची ब्लकका कक्षाकोठा हरुमा क्षति पुगेको विद्यालयका प्रबन्धक निर्देशक राजकुमार थापाले बताउनुभयो ।-रासस