क्यान निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा

मूलखबर संवाददाता
काठमाडौं, १ असोज

नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइसिसीका प्रतिनिधिबीच सोमबारको छलफलपश्चात् आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने निर्णय भएपछि प्रतिबन्ध फुकुवाको बाटो खुलेको छ।

यसअघि आइसिसीको स्वतन्त्र कमिटीले घोषणा गरेको मितिलाई राखेपले स्वीकृति नदिएपछि क्रिकेटको विवाद बढ्ने देखिएको थियो। स्वतन्त्र कमिटीले असोज ३ र ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो। तर, रापेखले भने पूर्वस्वीकृति नलिएइको साथै २१ दिनआगावै सूचना सार्वजनिक नगरेको भन्दै निर्वाचन मान्य नहुने जनाएको थियो।

त्यससँगै करिब चार वर्षदेखिको क्यानमाथि प्रतिबन्धको फुकुवामा अन्योलता सिर्जना उत्पन्न हुन पुग्यो।त्यसैबीच राखेपका सदस्यसचिव रमेश सिलवाल र निर्वाचित क्यानको नेतृत्व चतुरबहादुर चन्दसँगको छलफलपछि क्यान निर्वाचनको लागि बाटो खुलाउने प्रयास भएका थिए।

स्वतन्त्र कमिटीले पनि आइसिसीलाई विवादबारे जानकारी गराएपछि समाधानका लागि आइसिसीका प्रतिनिधि उस्मान ख्वाजा र अमर शेख नेपालका आएका थिए। उनीहरूले सोमबार सोल्टी होटेलमा स्वतन्त्र समितिका पदाधिकारी र परिषद्का सदस्यसचिवसँग एकैसाथ छलफल गरे।

छलफलमा राखेप र स्वतन्त्र कमिटी दुवै  लचिलो भएपछि एक साता पछि सरेर निर्वाचनको नयाँ मिति भएको हो। त्यससँगै नेपाली क्रिकेटको विवाद तत्कालका लागि मत्थर भएको छ। यसअघि स्वतन्त्र कमिटीले ३९ जिल्लाका साथै कुल ६ प्रदेशको निर्वाचन सम्पन्न गर्दै केन्द्रीय निर्वाचनको मिति तय गरेको थियो।