लमजुङको दोर्दी गापा केन्द्र भएर भुकम्पको धक्का, क्षतीको विवरण छैन

मूलखबर संवाददाता
लमजुङ, ३१ भदौ

लमजुङको दोर्दी गाउँपालिका केन्द्र भएर मंगलबार विहान भुकम्प गएको छ । लमजुङ र आसपासका जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ। बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युटको पराकम्प भएको केन्द्रले आफ्नो वेभसाइटमा राखेको छ। भूकम्पका कारण स्थानीय डराएर घरबाहिर निस्किएका थिए । केन्द्रले आफ्नो वेभसाइटमा राखेको गुगल म्याप डाटा अनुसार नौथरदेखि पाचोक जाने बाटो जितौरे नजिकै किसेदीखोला आसपास केन्द्रबिन्दु देखाएको छ।

स्थानिय युवा धर्म गुरुङका अनुसार बिहान भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए। उक्त क्षेत्रमा कुनै पनि मानवीय तथा भौतिक क्षति भने नभएको उनले बताए। हिजोदेखि लगातार वर्ष भइरहेको बेलामा भुकम्पको धक्का आएपछि स्थानियमा थप त्रासको वातावरण बनेको भएपनि सतर्कता अपनाउन र नआत्तिन आग्रह गरिएको  जानकारी दिनुभयो ।

लमजुङसहित मनाङ, गोरखा, कास्की लगायत जिल्लामा उक्त भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्।