निर्मल लामा स्मृति प्रतिष्ठानले भ्रष्टाचार विरोधी अभियान थाल्दै

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ ।

निर्मल लामा स्मृति प्रतिष्ठानले भ्रष्टाचार विरोधी अभियान थाल्ने भएको छ । प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत निर्मल लामाको भ्रष्टाचार विरोधी विचारलाई स्थापित गरी समाजलाई भ्रष्टाचार मुक्त बनाउन अभियान थाल्न लागेको जानकारी दिइएको हो । प्रतिष्ठानले आगामी असोज ३ गते संविधान दिवसको दिन गण्डकी प्रदेश अन्तरगत नवलपुरबाट अभियानको शुरुवात गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं पुर्व मन्त्री अमिक शेरचनले निर्मल लामा भ्रष्टाचारमुक्त सासन र व्यवस्थाको परिकल्ना गर्नुहुन्थ्यो भन्नुहुँदै उहाँको मार्गदर्शन अनुसार नै आफूहरूले देशलाई भ्रष्टाचारमुक्त पार्न अभियान चलाउन लागेको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष लिलामणी पोखरेलले सबैभन्दा ठूलो नीतिगत र राजनीीतक भ्रष्टाचारका विरुद्ध निर्मल लामाले सधे आवाज उठाउनुभएको र त्यसवापत जेल जिवन समेत विताउनुभएकाले उहाँको सम्मानको लागि अभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले हाल देशमा ६ प्रकारका भ्रष्टाचार भइरहेको जानकारी दिँदै सबै प्रकारका भ्रष्टाचारको विरुद्ध आफूहरुले अभियान सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी सचिव शशी श्रेष्ठले निर्मल लामा कुनै पनि दाग नलागेका व्यक्तित्व भएको र वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि भ्रष्टाचारीलाई छुट नदिने भन्नुभएको तथा निर्मल लामाले पनि भ्रष्टारमुत्तः समाजको कल्पना गर्नुभएकाले वर्तमान सरकारको शान्ति, समृद्धि र सुखी नेपालीको नारालार्य सफल पार्न अभियान सहयोगी हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा पुर्व मन्त्री एवं प्रतिष्ठानका उपाध्यक्ष दिनानाथ शर्माको पनि सहभागिता रहेको थियो ।