गृहमन्त्रीले जवाफ दिएपनि कांग्रेसद्वारा राष्ट्रिय सभाको बैठक अवरुद्ध

मूलखबर संवाददाता
काठमाडौं, २८ भदाै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको आइतबारको बैठक अवरुद्ध गरेको छ । कांग्रेसले बाँकमा आफ्ना नेता कार्यकर्तामाथि भएको आक्रमणको घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रियसभाको आईतबारको बैठकमा कांग्रेसले बाँके घटनामा संलग्न भनी पिडीतले किटानी जाहेरी गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको भन्दै तत्काल जाहेरी दर्ता गरी वास्तविक दोषीलाई कारवाहीको प्रतिवद्धता जनाउन सरकारसंग माग गरेको हो ।

बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेसका सांसदहरुले किटानी जाहेरीको निवेदन दर्ता गर्न माग गर्दे बैठक अवरोध गरेका हुन् ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द प्रसाद पाण्डेले योजनाबद्ध रुपमा बाँके घटना गराईएको तथा किटानी जाहेरी दर्ता गर्न पनि अस्वीकार गरिएको भन्दै तत्काल जाहेरी दर्ता गराउन माग गर्नुभयो । उहाँले यस्ता घटना र घटनाप्रति सरकारले देखाएको कार्यशैली दोहोरिदै जादा राजनीतिक दलहरु राज्य आंतकको शिकार बन्दै जानुपर्ने अवस्था श्रृजना हुने भन्दै वास्तविक दोषीलाई कारवाही को प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने बताउनुभयो ।

कांग्रेस सांसदहरुको अवरोध जारी रहेपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।